अन्तर्राष्ट्रिय उपाधि जित्ने नेपाली महिला फुटबल टिमको लक्ष्य फेरि पनि असफल भएको छ।
बिहीबार किर्गिस्तानमा भएको नाडेज्दा कपमा उज्वेकिस्तानसँग पराजित भएसँगै नेपालको उपाधि जित्ने लक्ष्य आठौं फाइनलमा पूरा हुन नसकेको हो।
फिफा वरीयतामा ५७ स्थान माथि रहेको उज्वेकिस्तानले नेपाललाई ३-२ गोलले पराजित गर्दै उपाधि जितेको हो।
नेपालका लागि सावित्रा भण्डारीले ६५ मिनेटमा गोल फर्काएकी थिइन्। त्यतिबेला नेपालले ३ गोल खाइसकेको थियो।
सावित्राले दोस्रो हाफको इन्जुरी टाइममा पेनाल्टीबाट दोस्रो गोल गरिन्। तर त्यतिबेला नेपाललाई खेलमा फर्कन ढिला भइसकेको थियो।
उनले प्रतियोगितामा ७ गोल गरिन्। उनको यो ३३ अन्तर्राष्ट्रिय खेलमा ३५ गोल हो। जससँगै उनले नेपालका लागि बढी अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान बराबरी गरेकी छिन्। उनले अनु लामाको नाममा रहेको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबरी गरेकी हुन्।
आगामी मंसिरमा नेपालमा हुने तय दक्षिण एसियाली खेलकुदको तयारीका लागि किर्गिस्तान पुगेको नेपाललाई उज्वेकिस्तानले समूह चरणमा पनि २-० ले हराएको थियो। नेपालले आयोजक किर्गिस्तानलाई ८-२ र ताजकिस्तानलाई १-० ले हराएर फाइनलमा स्थान बनाएको थियो।
नेपालले ९ वर्षको अवधिमा यो आठौं पटक अन्तर्राष्ट्रिय फाइनल खेलेको हो। पछिल्लो ८ महिनामा तेस्रो फाइनलमा प्रतिस्पर्धा गरेको नेपालको उपाधि जित्ने यात्रा फेरि धकेलिएको थियो।
यसअघि गत चैतमा विराटनगरमा भएको पाँचौ साफ च्याम्पियनसिपको फाइनलमा नेपालले भारतलाई ३-१ ले नतिजा सुम्पिएको थियो। त्यसअघि भारतको भुवनेश्वरमा भएको हिरो कपको फाइनलमा नेपालमाथि म्यानमारले ३-१ कै जित निकालेको थियो।
यस्तै नेपालले पहिलो देखि तेस्रो साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाए पनि उपाधि भने जित्न सकेन। ११औं र १२औं दक्षिण एसियाली खेलकुदको फाइनलमा पनि नपाल भारतसँगै पराजित भएको थियो।
महिला टिमको फाइनल यात्रा
साफ च्याम्पियनसिप
पहिलो साफ च्याम्पियनसिप (बंगलादेश) २०१० - भारतसँग १-० ले पराजित
दोस्रो साफ च्याम्पियनसिप (श्रीलंका) २०१२ - भारतसँग ३-१ ले पराजित
तेस्रो साफ च्याम्पियनसिप (पाकिस्तान) २०१४ - भारतसँग ६-० ले पराजित
पाँचौ साफ च्याम्पियनसिप (नेपाल) २०१९ - भारतसँग ३-१ ले पराजित
दक्षिण एसियाली खेलकुद
११औं दक्षिण एसियाली खेलकुद (बंगलादेश) २०१० - भारतसँग ३-१ ले पराजित
१२औं दक्षिण एसियाली खेलकुद (भारत) २०१० - भारतसँग ४-० ले पराजित
हिरो कप २०१९ (भारत) - म्यानमारसँग ३-१ ले पराजित
नाडेज्दा कप २०१९ (किर्गिस्तान) - उज्वेकिस्तानसँग ३-२ ले परजित