लियोनेल मेसीले नेइमार जुनियरलाई बार्सिलोना फर्केको हेर्न चाहेको बताएका छन्।
उनले नेइमारको बार्सिलोना फिर्तीले आफूहरूको लक्ष्य प्राप्तिको सम्भावनालाई बढाउने बताउँदै यस्तो बताएका हुन्।
२७ वर्षिय नेइमार सन् २०१७ मा २ सय २२ मिलियन युरोको कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन गएका थिए।
'उनी फर्किन हताशिएका छन्', स्पेनिस अखबार 'स्पोर्ट'सँगको अन्तरवार्तामा मेसीले भने, क्लबले साँच्चिकै कोशिस गर्यो कि गरेन, त्यो मलाई थाहा छैन।'
नेइमारले बार्सिलोनाका लागि सन् २०१३-२०१७ को अवधिमा १८६ खेल खेल्दै १०५ गोल गरेका थिए भने पिएसजीका लागि ५८ खेलमा ५१ गोल गरेका छन्।
यस सिजनको समाप्तीदेखि नै नेइमारको बार्सिलोना फिर्तीलाई लिएर पटकपटक चर्चामा आइरहेका थिए। तर यसबारेमा दुबै क्लबहरू सम्झौता गर्न प्रतिबद्ध नभएको बताइदै आइएको छ।
'म नेइमार फर्किएको हेर्न चाहन्छु', बार्सिलोनाका कप्तान मेसीले भने, 'मैले उनी फिर्ता नभएको हेर्न चाहनेलाई पनि बुझेको छु र नेइमारसँग के भयो र के तरिकाले उनले छाडे भन्ने पनि मलाई थाहा छ।'
'तर खेलको तहमा रहेर सोच्दा नेइमार संसारका उत्कृष्ट खेलाडी मध्येका एक हुन्। उनी हाम्रो टोलीमा भएमा हाम्रा लक्ष्य प्राप्तिका सम्भावनालाई त्यसले बढाउनेछ।'
यसैगरी मेसीले बार्सिलोनाका खेलाडीहरूले नेइमारलाई अनुबन्धन गर्नेपर्छ भनेर क्लबलाई नभनेको पनि सो अन्तरवार्तामा स्पष्ट पारेका छन्।
'उनी आए-नआएमा के हुन्छ भनेर हामीले हाम्रो धारणा दिएका हौं तर हामीले कहिले पनि उनलाई अनुबन्धन गर्नैपर्छ भनेर भनेका छैनौं', मेसीले सो भनाइको खण्डन गर्दै भने।
त्यसैगरी उनले नेइमार नआउँदा निराश पनि नभएको बताए। उनले बार्सिलोना उत्कृष्ट टोली भएकाले नेइमारबिना पनि सबै कुरा प्राप्त गर्ने सक्षम रहेको दाबी गरे।
यसैगरी अन्तरवार्तामा सन् २०२१ को जुनमा बार्सिलोनासँगको अनुबन्ध सम्झौता खत्तम हुन लागेका मेसीले बार्सिलोना आफ्नो घर भएको बताउँदै टोलीमा आफू शरिरले सक्दासम्म रहने पनि स्पष्ट पारे।
'म यहाँ खेल्न सक्ने र शरिरले साथ दिदांसम्म बस्ने सोचमा छु', मेसीले भने, 'यो मेरो घर हो। प्रतिष्पर्दी र जित हासिल भइराख्दासम्म मेरो यहाँबाट अन्त कतै जाने कुनै योजना छैन।'