इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफू लिओनल मेसीभन्दा बढी बालन डि’ओर अवार्ड जित्न लायक भएको प्रतिक्रिया दिएका छन्।
रोनाल्डोले ब्रिटेनको आइटिभीलाई अन्तर्वार्ता दिने क्रममा राखेको भनाइ उल्लेख गर्दै इएसपिएनले लेखेको छ, ‘मेसी फुटबलका इतिहास हुन्। तर मलाइ लाग्छ मैले ६ वा ७ वा ८ पटक अवार्ड जित्नु पर्छ। जुन मेसीको भन्दा बढी होस्। मलाई यो मन पर्छ। मलाइ लाग्छ यसका लागि म लायक छु।’
३४ वर्षीय रोनाल्डो र बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड मेसीले अहिलेसम्म ५–५ पटक अवार्ड हात पारेका छन्।
पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डोले मेसीसँग अहिलेसम्म साथीको सम्बन्ध नभएको पनि बताएका छन्। साथै उनले मेसीको करिअर उचाइमा पुर्याउनमा आफ्नो हात रहेको दाबी गरेका छन्।
‘हामी साथी छैनौं। तर, हामीले १५ वर्ष स्टेज सेयर गरिरहेका छौ। उसले मलाई र मैले उसलाई राम्रो खेलाडी बनाउन दबाब दिइरहेको मलाई लाग्छ,’ रोनाल्डोले भनेका छन्।
म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडबाट पाँच पटक युरोपियन च्याम्पियन्स लिगको ट्रफि उचालेका रोनाल्डोले पोर्चुगललाई २०१६ को युरो कप र २०१९ को नेसन्स लिग जिताउन कप्तानी प्रदर्शन गरेका छन्।
‘म रेकर्डलाई पछ्याउदिन, रेकर्डले मलाई पछ्याउछ। मलाई सफलता हात पार्ने नसा छ। यो नराम्रो कुरा होइन भन्ने मलाई लाग्छ। यसले मलाई उत्साह मिल्छ,’ रोनाल्डोले भने।