फिफा विश्वकप २०२२ र एसियन कप २०२३ अन्तर्गत समूह 'बी' को आफ्नो अन्तिम अवे खेलमा नेपाल पराजित भएको छ।
नेपाललाई मंगलबार राति जोर्डनले आफ्नो घरेलु मैदानमा ३-० गोलले पराजित गरेको हो।
अम्मान अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा जोर्डनलाई नेपालले पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो।
दोस्रो हाफमा भने नेपालले ३ गोल खायो।
खेलको ५६ मिनेटमा नेपालले पेनाल्टीमार्फत पहिलो गोल खाएको थियो। नेपालका दिशेन राजवंशीले डिबक्स भित्र जोर्डनका खेलाडीलाई तानेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। पेनाल्टीमा जोर्डनका फिरास साल्बायाले गोल गरे।
जोर्डनले खेलको ७८ मिनेटमा अग्रता दोब्बर पार्यो। उसका लागि अहमाद इरसनले उत्कृष्ट फिनिसिङ गर्दै दोस्रो गोल गरेका थिए।
खेल सकिन २ मिनेट बाँकी छदा नेपालले तेस्रो गोल खायो। जोर्डनका बहा फैसलले ८८ मिनेटमा गोल गरेर आफ्नो टिमलाई ३-० ले अघि बढाएका थिए।
समूह 'बी' मा नेपाल चौथो स्थानमा छ। नेपालले ४ खेलमा ३ अंक जोडेको छ।
तीनै खेलमा विजयी हुँदै ९ अंक जोडेको अस्ट्रेलिया शीर्ष स्थानमा छ भने जोर्डन ३ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा छ। तेस्रो स्थानको कुवेतले ४ अंक जोडेको छ। अंकबिहीन चाइनिज ताइपेई पाँचौ स्थानमा छ।
योसँगै नेपालले चार वटै अवे खेलेको छ। नेपाल पहिलो खेलमा कुवेतसँग ७-० गोलले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले चाइनिज ताइपेईलाई २-० गोलले हराएको थियो। तेस्रो खेलमा नेपालमाथि अस्ट्रेलियाले ५-० को जित हात पारेको थियो।
अब नेपालले पहिलो अवे खेल आगामी १९ नोभेम्बरमा कुवेतसँग दशरथ रंगशालामा खेल्नेछ।