फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिताअन्तर्गत नेपाल र कुवेतबीचको खेल भुटानमा हुने भएको छ।
आगामी मंसिर ३ गते भुटानको राजधानी थिम्पुस्थित चाङ्गलिमिथाङ रंगशालामा खेल हुने पक्का भएको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले न्युट्रल भेन्यूको रुपमा भुटानमा खेल्न गरेको प्रस्तावलाई एसियाली फुटबल महासंघले स्विकृत गरेको हो।
यसअघि नेपालको दशरथ रंगशालामा खेल खेलाउने प्रस्ताव गरिएको थियो। तर खेल खेलाउन चाहिने मापदण्ड नपुगेकाले एएफसीले दशरथ रंगशालालाई अयोग्य घोषित गरेको थियो।
एएफसीका प्रतिनिधि देङ सिओ लोङले गोप्य रूपमा निरिक्षण गरेका थिए। लगत्तै उनले दशरथ रंगशालाको मापदण्ड नपुगेको प्रतिवेदन बुझाएका थिए।
२०७२ को भूकम्पले क्षतिग्रस्त दशरथ रंगशाला अहिलेसम्म पूर्ण तयार छैन। खेलाडीका लागि चाहिने चेन्जिङ रूम अहिलेसम्म तयार भएको छैन।
दशरथ रंगशाला समयमै बन्न नसक्दा नेपालले सुरूमै अवे म्याच खेल्नु परेको थियो। नेपालले पहिलो चरणमा चार वटै अवे खेल खेलिसकेको छ।
नेपालले चारमध्ये तीन खेलमा हार र एक खेलमा जित निकालेको छ।
पहिलो खेलमा कुवेतसँग ७-० ले पराजित नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २-० ले पराजित गरेको थियो। नेपाललाई तेस्रो खेलमा अस्ट्रेलियाले ५-० र चौथो खेलमा जोर्डनले ३-० ले हराएका थिए। नेपाल ३ अंकका साथ समूहको चौथो स्थानमा छ।
विश्वकपको अघिल्लो चरणको छनोटमा पुग्न कम्तीमा दोस्रो र एएफसी कपको अघिल्लो चरणमा पुग्न कम्तीमा चौथो हुनु पर्नेछ।