फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिताअन्तर्गत कुवेतविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ।
आगामी मंसिर ३ मा भुटानको राजधानी थिम्पुमा हुने खेलका लागि प्रमुख प्रशिक्षक योहान कालिनले राष्ट्रिय टिम घोषणा गरेका हुन्।
दशरथ रंगशाला समयमै बन्द नसक्दा नेपालले आफ्नो होम म्याच न्यूट्रल भेन्यूमा खेल्न लागेको हो।
नेपालसँग खेल्नु ५ दिनअघि समूह 'बी' को खेलमा कुवेतले चाइनिज ताइपेईलाई ९–० गोलले पराजित गरेको थियो।
कुवेतले घरेलु मैदानमा बिहीबार भएको खेलमा पहिलो हाफमा २ गोल गर्दा दोस्रो हाफमा ७ गोल थपेको थियो। कुवेतका लागि नासेरले २ गोल गर्दा अन्य गोल फरक फरक खेलाडीले गरे।
समूहको अर्को खेलमा जोर्डनमाथि अस्ट्रेलियाले १–० को जित हात पारेको छ।
यसअघि कुवेतले पहिलो लेगमा नेपालमाथि ७–० को जित हात पारेको थियो।
छनोटमा नेपालले चारमध्ये तीन खेलमा हार र एक खेलमा जित निकालेको छ।
पहिलो खेलमा कुवेतसँग ७-० ले पराजित नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २-० ले पराजित गरेको थियो। नेपाललाई तेस्रो खेलमा अस्ट्रेलियाले ५-० र चौथो खेलमा जोर्डनले ३-० ले हराएका थिए। नेपाल ३ अंकका साथ समूहको चौथो स्थानमा छ।
विश्वकपको अघिल्लो चरणको छनोटमा पुग्न कम्तीमा दोस्रो र एएफसी कपको अघिल्लो चरणमा पुग्न कम्तीमा चौथो हुनु पर्नेछ।
नेपाली टिम
गोलकिपर - किरणकुमार लिम्बु, विशेक कुथु, विशाल श्रेष्ठ
डिफेन्डर - सरोज दाहाल, देवेन्द्र तामाङ, अनन्त तामाङ, सुमन आर्याल, दिनेश राजवंशी, अजित भण्डारी, रञ्जित धिमाल
मिडफिल्डर - सुनील बल, अञ्जन विष्ट, विक्रम लामा, रविशंकर पासवान, मिक्छेन तामाङ, रोहित चन्द, सुजल श्रेष्ठ, सन्तोष तामाङ, तेज तामाङ
फरवार्ड - भारत खवास, नवयुग श्रेष्ठ, विमल घर्तीमगर, अभिषेक रिजाल