इंग्लिस क्लब टोटनह्यामले माउरिसियो पेचेटिनोलाई प्रशिक्षकबाट बर्खास्त गरेको छ। पछिल्लो पाँच वर्षदेखि टोटनह्यामको प्रशिक्षक रहेका उनलाई बुधबार राति बर्खास्त गरिएको हो।
जारी इंग्लिस प्रिमियर लिगमा खराब प्रदर्शन गरेपछि क्लब व्यवस्थापन उनीसँग असन्तुष्ट थियो। लिगमा टोटनह्याम अहिले १४औं स्थानमा छ।
पेचेटिनो सन् २०१४ मेमा टोटनह्याममा आबद्ध भएका थिए। गत सिजन उनले क्लबलाई युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुर्याएका थिए।
फाइनलमा अर्को इंग्लिस क्लब लिभरपुलसँग पराजित हुँदा टोटनह्याम उपविजेतामै सीमित बन्न पुगेको थियो।
सन् २०१४ मा साउथह्याम्टनलाई उत्कृष्ट नजिता दिलाएपछि उनी टोटनह्याममा आएका थिए।
टोटनह्यामले अब जोसे माउरिन्होलाई प्रशिक्षक बनाउन कुराकानी अघि बढाएको छ। माउरिन्होलाई डिसेम्बर २०१८ मा अर्को इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले बर्खास्त गरेको थियो।
पछिल्ला केहि वर्ष असफल भएका माउरिन्होले चेल्सी, एफसी पोर्टो, रियल म्याड्रिड र इन्टर मिलानलाई लिगको उपाधि जिताएका थिए।