प्रधानसेनापति सातौँ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश नं १ लाई शून्यका विरुद्ध नौ गोलले पराजित गरेको छ। खेल शुरु भएको २ मिनेटमा अग्रता लिएको त्रिभुवन आर्मी क्लबले मध्यान्तरअघि ५ र मध्यान्तरपछि ४ गोल गरेको थियो।
आर्मीका तर्फबाट शर्मिला थापा मगर र रश्मीकुमारी घिसिङले ह्याट्रिक गरे विमला चौधरीले २ र सपना लामाले १ गोल गरे।
खेल शुरु भएसँगै २, ७, १०, ४३, ४४, ५८, ६५, ७३ र ७५ मिनेटमा आर्मीका खेलाडीले लगातार गोल गरेका थिए। शुरुदेखि निरन्तर दवावमा रहेका प्रदेश नं १ का खेलाडीले मध्यान्तरपछि खेलमा केही सुधार गरे पनि आक्रमकरुपमा प्रस्तुत भएका सेनाका खेलाडी सामु उनीहरुको प्रदर्शनी फितलो सावित भएको थियो।
प्रतियोगितामा तीन विभागीय, दुई विदेशी तथा तीन प्रदेशका फुटबल टोली सहभागी छन्। आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५ तथा भारतको सिक्किम र भुटानको फुटबल टोलीले प्रतिस्पर्धा गर्नेछन्।
लिग र नकआउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार तथा सेमिफाइनल पुग्ने दुई टोलीले रु ५०-५० हजार पुरस्कार प्राप्त गर्र्नेछन्। महासेनानी शशिकिरण रायमाझीका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर प्रदान गरिनेछ।
यस्तै उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकलाई जनही रु १०-१० हजार प्रदान गरिनेछ । सेनाले २०७० सालदेखि उक्त प्रतियोगिता आयोजना गर्दै आएको छ।
विगतमा सोझै नकआउटका आधारमा सञ्चालन गरिँदै आएको सो प्रतियोगिता यस पटक विदेशी फुटबल टोलीको आग्रहमा लिग र नकआउटका माध्यमबाट सञ्चालन गर्न लागिएको हो। खेल सेनाको मुख्यालयभित्र रहेको खेल मैदान तथा ललितपुरको लगनखेलस्थित सेनाका दुई मैदानमा खेलाइनेछ।
प्रतियोगिता आगामी पुस ९ गतेसम्म चल्नेछ।