सहिद स्मारक ए डिभिजन लिगमा पहिलो हार बेहोरेपछि मच्छिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटवालले खेलाडी प्रतिबन्ध परेका कारण अप्ठ्यारो परेको बताएका छन्।
शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मच्छिन्द्रलाई हिमालयन शेर्पा क्लबले २-० गोलले पराजित गर्यो।
'हामीलाई तीन जना खेलाडी प्रतिबन्ध पारेका कारण खेल्न गाह्रो भयो,' कटवालले भने,'अझ आजको खेलमा हिमालयन शेर्पा क्लबले राम्रो खेल्यो। अर्को खेलमा पक्कै राम्रो खेल्नेछौ।'
मनाङ मर्स्याङ्दी क्लबविरुद्धको खेलमा झगडा गरेका कारण मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई २-२ खेलको प्रतिबन्ध लागेको थियो। तीनै जना खेलाडीको प्रतिबन्ध अब सकिएको छ।
यता लिगमा पहिलो जित हात पारेपछि शेर्पाका प्रशिक्षक सञ्जिव बुढाथोकीले मिहिनेत गरेर खेलेकाले जितेको बताए।
'आर्मीसँग पराजित हुँदा नराम्रो लागेको थियो। अहिले हाम्रोले राम्रो खेल्यौ, भाग्यले पनि साथ दियो,' उनले भने,'उपाधि दाबेदारलाई पराजित गर्नु राम्रो कुरा हो।'
शुक्रबार पराजय भोगेसँगै मच्छिन्द्र क्लबले शीर्ष स्थानमा रहेर अग्रता लिने अवसर गुमायो।
पराजयपछि अंक तालिकाको दोस्रो स्थानमा झरेको मच्छिन्द्रको ७ खेलबाट १३ अंक छ। मच्छिन्द्रले यसअघि ४ खेलमा जित र २ खेलमा बराबरी खेलेको थियो।
शीर्ष स्थानमा उक्लिएको आर्मीको ६ खेलबाट १३ अंक छ। आर्मी गोलअन्तरमा अघि छ।
यता मच्छिन्द्रलाई पराजित गरेको शेर्पाले लिगमा पहिलो जित निकालेको छ। शेर्पा ७ खेलबाट ७ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ। शेर्पा यसअघिका ६ मध्ये ४ खेलबाट बराबरीमा रोकिएको थियो।
शुक्रबार शेर्पाको जितमा मच्छिन्द्रका पिटर सेगुनले पहिलो मिनेटमै आत्मघाती गोलको उपहार दिएका थिए।
२० मिनेटमा विजय श्रेष्ठले अर्को गोल गरेपछि शेर्पाको अग्रता दोब्बर भएको थियो। निरज बस्नेतको फ्रिकिमा विजयले हेडमार्फत गोल गरे।