सहिद स्मारक ए डिभिजन लिगका देबादार क्लबहरु मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबबीचको प्रतिस्पर्धा २-२ गोलको बराबरीमा सकिएको छ।
शनिबार दशरथ रंगशालामा भएको खेलमा बराबरीमा रोकिएपछि मनाङले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ।
रोमाञ्चक खेलमा मनाङका लागि दुवै गोल अञ्जन विष्ट र थ्रीस्टारका लागि दुवै गोल भारतीय खेलाडी लालराम्माभाले गरे।
थ्रीस्टारका डेब्यू खेलाडी लालरम्माभाले खेलको १९ मिनेटमा गोल गरेर अग्रता दिलाए।
पहिलो हाफमा १-० गोलले पछि परेको मनाङका लागि अञ्जनले ४९ मिनेटमा बराबरी गोल फर्काए।
अञ्जनले ६९ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा मनाङले २-१ गोलको अग्रता लियो।
तर ८३ मिनेटमा लालरम्माभाले व्यक्तिगत दोस्रो गोल गर्दा खेल २-२ को बराबरीमा आयो।
यता दिनको पहिलो खेलमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई २-० ले हरायो। पुलिसका लागि सौजन राईले १९ र सुमन सुवेदीले ४८ मिनेटमा गोल गरे।
जारी लिगमा पुलिसको यो तेस्रो जित हो। पुलिस २ खेलमा बराबरी र २ खेलमा पराजित भएको छ।
लिगमा शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबको ६ खेलबाट १३ अंक छ। एक खेल बढी खेल खेलेको मच्छिन्द्रको पनि १३ अंक नै छ भने उ दोस्रो स्थानमा छ।
तेस्रो स्थानको मनाङको पनि ७ खेलबाट १३ अंक नै छ। थ्रीस्टार ११ अंक जोडेर चौथो स्थानमा छ। पाँचौ स्थानको पुलिसको पनि ११ अंक नै छ। जावलाखेल ९ अंकसहित छैटौं स्थानमा छ।