इंग्लिस फुटबल क्लब लिभरपुलका समर्थक (कोपाइटस्हरू) प्रसिद्ध 'तिमी कहिल्यै एक्लै हिड्ने छैनौं' र 'हामी विजेता बन्न गैरहेका छौं' भन्ने गीतले एनफिल्ड गुञ्जयमान बनाइरहेका छन्। सायद उनीहरूले प्रिमियर लिग सुरू भएदेखि अहिले २७ औं सिजनमा ढुक्कले गाइरहेका छन्।
सिजनको सुरूआतदेखि नै यस्तो लयमा अन्य कुनै क्लब देखिएका थिएनन्। यो लेख तयार पार्दासम्म २२ खेलपछि ६४ अंकसहित दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा १३ अकंले अगाडि रहेको छ जबकी लिभरपुलले दुई खेल कम खेलेको छ ।
मर्सी नदीको छेउमा अवस्थित लिभरपुल सहर फुटबल र संगीतको लागि प्रसिद्ध छ। विटल्सदेखि लिभरपुल यसका ऐतिहासिक आर्कषण हुन्। यो क्लब ७० र ८० को दशकमा निकै नै सफल थियो। त्यतिबेला म्यानेजर बिल स्याकंली, बब पेस्ली तथा खेलाडी किङ्ग केनीले क्लबलाई व्रिटेनमा मात्र नभइ युरोप चिनाए।
सन् १९८५ को युरोपियन च्याम्पियनसिपको फाइनल प्रतियोगता ब्रसेल्सको हेसिल्स स्टेडियममा इटालियन महारथी युभेन्टससँगको खेल सुरू हुनभन्दा अघि नै रंगशाला वरपरको माहोल बिग्रिसकेको थियो।
खेल सुरू हुनपूर्व दुवै क्लबका समर्थकबीच भएको झडपमा ३९ जना मृत्यु भयो जसको आरोप लिभरपुल समर्थकलाई लगाइयो भने केहिले जेल पनि बस्नु पर्यो। झडपका बाबजुत पनि भएको खेल लिभरपुलले १–० ले हार्न पुग्यो। त्यसपछि त सम्पूर्ण इंग्लिस क्लबलाई युरोपियन प्रतियोगितामा प्रतिबन्ध नै लगाइयो, कारण हुल्याहा समर्थक नै थिए।
अन्य क्लबले पाँच सिजन प्रतिबन्ध लागे पनि लिभरपुललाई फुकुवा पाउन ६ सिजन कुर्नुपर्यो। तर अन्य कमजोरीहरूलाई वेवास्ता गरियो जस्तो कि हेसिल रंगशाला युरोपियन फाइनलका लागि गुणस्तरको कारणले उपयुक्त थिएन, मर्मत सुधारको पनि चित्तबुझ्दो भएको थिएन, जसका लागि लिभरपुल र युभेन्टस दुवैले परिवर्तन गर्न गरेको प्रस्तावलाई युइफएले स्वीकार गरेन। जहाँ बार्सिलोना र रियल म्याड्रिडका रंगशाला दुवैका लागि उपयुक्त हुन सक्थे।
अर्को महत्वपूर्ण कुरा त दुवै टिमका समर्थकलाई बराबर टिकटको व्यवस्था गर्नुपर्नेमा युभेन्टसलाई तीन सेक्सन तथा लिभरपुललाई दुई सेक्सन मात्र स्थान उपलब्ध गराइयो र लिभरपुलको एक सेक्सन जुन सामुन्नेमा नै थियो त्यो तटस्थ दर्शकलाई दिइयो।
त्यो समय ब्रसेल्समा इटालियन समुदायका मानिसहरू धेरै थिए, तटस्थ क्षेत्रको सबभन्दा बढी टिकट तिनैहरूकै हातमा गयो जसको कारणले त्यहाँ तनाव बढ्न पुग्यो। नजिकै रहेका युभेन्टस समर्थक, लिभरपुलका हुल्याहरूको आक्रमणमा परी भएको भागदौडमा निस्सासिएर मृत्यु भएको थियो। यस घटना पछिको प्रतिबन्धले इंग्लिस क्लबहरू जो युइएफएको गुणांक श्रेणीमा अग्रस्थानमा थिए त्यो गुमाउनाले पछि पर्न थाले जुन स्थान प्राप्त गर्न सन् २००८ कुर्नुपर्यो।
उक्त घटनापश्चात् पनि घरेलु प्रतियोगितामा भने लिभरपुलले उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको थियो। अकस्मात् सन् १९८९ को सेफिल्डको हिल्सब्रो रंगशालामा एउटा दु:खद घटना घट्न पुग्यो जसमा ९६ जनाको मृत्यु र १६२ जना घाइते भएका थिए।
खेल नटिङह्याम फरेष्टसँग एफए कपको सेमिफाइनल थियो। सुरूमा लिभरपुलका हुल्याहा र जड्या समर्थकलाई नै दोष लगाइएको थियो। हेसिलको जस्तै सोचेर तत्कालीन युइफएका अध्यक्ष ज्याक जर्जले लिभरपुलका समर्थकलाई पशुको संज्ञा दिएका थिए। खासमा त्यति बेलाका सबैजसो इंग्लिस क्लबमा केही त्यस्ता समर्थकहरू हुने गर्थे।
ब्रिटिस पत्रिका द सनले झूटा दाबी गर्दै सम्पूर्ण गल्ती लिभरपुल समर्थकको भएको, पुलिसहरूलाई समेत पिटेको समाचार प्रकाशित भएपछि त्यसको निकै विरोध भयो जबकी आजसम्म पनि द सन पत्रिकालाई लिभरपुलमा निषेध गरिएको छ। पछि हिल्सब्रो इन्डिपेन्डेड प्यानलले सन् २०१२ मा प्रकाशित प्रतिवेदन अनुसार घटना पुलिसको असावधानीले घटेको थियो जसमा प्रधानमन्त्री डेभिड क्यामरुनले समेत माफी मागेका थिए।
यो घटनापछि इंग्लिस रंगशालाको गुणस्तरमा पनि व्यापक सुधार गरिएको थियो। त्यो सिजन लिभरपुलले आफ्नो अन्तिम खेल आर्सनल सग २–० ले गुमाएसँगै समान अकं र गोल अन्तर भएता पनि बढी गोलकर्ताको आधारमा लिगको उपाधि पनि आर्सनलले नै उचाल्यो।
प्रिमियर लिगको सुरूआत र लिभरपुल
यिनै कारणहरूले गर्दा इंग्लिस घरेलु लिग इटालियन र स्पेनिस लिगभन्दा पछि पर्न थाल्यो, थुप्रै खेलाडीहरू विदेशमा खेल्न जान थालेपछि १९९२-९३ को सिजनबाट प्रिमियर लिगको रूपमा २० क्लबको सहभागितामा नयाँ लिग प्रणालीको रूपमा खेलाउन थालियो।
सुरूआतबाट नै सर एलेक्स फर्गुसनबाट प्रभावित म्यानचेष्टर युनाइटेडको छायामा प्रिमियर लिग पर्यो, उनले जे बोले त्यो गरेर देखाए।
लिभरपुलको चिर प्रतिद्वन्द्वी म्यानचेष्टर युनाइटेड सन् ९० र २००० को दशकमा घरेलु लिगमा अत्यन्त सफल रूपमा रहन पुग्यो।
नयाँ संस्करण सुरू भय पश्चात् ठूला मानिएका क्लबहरू म्यानचेष्टर युनाइटेडले १३, चेल्सीले ५, म्यानचेष्टर सिटीले ४ तथा आर्सनलले ३ पटक लिग जितिसकेका छन् तर लिभरपुलले चार पटक मात्र दोस्रो स्थान हासिल गर्न सफल भएको छ।
९० को दशकमा जेरार्ड हुलियर तथा २००० को मध्यतिर आएका राफेल बेनिटेज प्रिमियर लिगबाहेक अन्य प्रतियोगिताहरूमा केही सफल देखिए।
सन् २०१० मा मालिक पनि फेरिए, जब जिलेट र हिक्सले क्लबलाई फेनवेए स्पोर्टस क्लबलाई बेचे त्यतिबेलासम्म चेल्सी र सिटीले ठूलो लगानी भित्र्याइ पावरहाउसको रूपमा परिचित भैसकेका थिए तर लिभरपुलको प्रदर्शनमा खासै सुधार आएन।
सिजन २०१२-१३ पछि जब फर्गुसनले म्यानचेष्टरबाट संन्यास लिए, त्यसपछि युनाइटेड कहिल्यै पनि दाबेदारको रूपमा अगाडि आउन सकेन, त्यो सिजन लिभरपुल २८ अकंले पछि पर्दै छैटौ स्थानमा टुंग्यायो।
त्योभन्दा बढी अन्तर यो सिजनमा पर्ला जस्तो छ तर विपरीत रूपमा। त्यस सिजनका म्यानेजर रोय हड्सन साना क्लबमा त निकै सफल भए तर ठूला क्लबलाई व्यवस्थापन गर्न सकेनन्, उनका बेला लिभरपुलको बारेमा हाँसो मजाक नै चल्थ्यो विशेषगरी उनले उपाधि जित्नका लागि भित्र्याएका खेलाडी अहिले कता छन् गुगलमा खोज्नैपर्छ। पछि ब्रेण्डन रोर्जस आए त्यसै सिजनमा उपाधिको निकै नजिक भएर पनि २०१३–१४ मा स्टेभन जेरार्ड मैदानमा चिप्लेर चेल्सीसँग घरेलु मैदानमा खेल गुमाउनुनै ठूलो दुर्भाग्य हुन पुग्यो, लुइस सुवारेज र डयानिल स्टुवारिजमा भर परेको त्यो सिजन उत्कृष्ट प्रदर्शन गर्दागर्दै उपाधि म्यान सिटीलाई सुम्पन्न पुग्यो।
तर सिजनको सुरूआतमा लिभरपुललाई उपाधिको दाबेदार नमानिएता पनि रोर्जस अपेक्षा गरेभन्दा बढी सफल भएको मान्न सकिन्छ, यदि लिभरपुलले उपाधि जितेको भए सायद दुई तीन सिजनसम्म रोर्जसलाई लिभरपुल बर्खास्त नगर्न पनि सक्थ्यो। तथापी त्यसको यस सिजनको अघि र पछि त क्लबको हालत यदि खराब थियो कि लिभरपुललाई इतिहासको सफल क्लबको रूपमा मात्र हेरिन्थ्यो।
राम्रा खेलाडी आउन नमान्ने, आएर राम्रो प्रदर्शन गर्यो कि बार्सिलोना, रियल म्याड्रिड तथा म्यानचेष्टर सिटीले गरिहाल्ने प्रस्तावमा क्लबको इच्छा नहुँदा नहुँदै बेच्नैपर्ने बाध्यता थियो। तर लुइस सुवारेज र फिलिप कोटिन्हो बार्सिलोना बेचेर लिभरपुललाई आर्थिक रूपमा निकै राम्रो फाइदा भयो।
२०१५ मा योर्गन क्लोपलाई क्लबको प्रशिक्षकको रूपमा भित्र्यायो। जबकी त्यसै समय ठूला क्लब व्यवस्थापनमा सफल प्रशिक्षक कार्लोस एन्सोलोटीले पनि इच्छा देखाएका थिए, त्यो निर्णय क्लबको लागि कोसेढुंगा सावित हुन पुग्यो।
उनलाई क्लबका मालिकले पनि पूर्ण विश्वास गरे तर खेलाडी भित्र्याउन पनि त्यति ठूलो धनराशी खर्च गरेका छैनन् जति रियल, पिएसजी, सिटीले गरेका छन्। जब साडियो माने जस्ता खेलाडीले युनाइटेडको इच्छा हुँदाहुँदै लिभरपुल रोजे यसले गर्दा क्लब पनि उकालो लागेको देखिन्छ।
गत सिजनमा लिभरपुल र सिटीको सुरूआत देखिनै प्रतिस्पर्धा थियो, लिगको मध्यतिर आइपुग्दा ७ अकंले अग्रता लिएको लिभरपुलले पूरा सिजनमा एक खेल हार्दा पनि अन्त्यमा उपाधि गुमाएको थियो, सामान्यतया प्रिमियर लिगको मध्यसम्ममा जसले लिगमा अग्रता लियो।
त्यसैले उपाधि जित्ने गरेकोमा लिभरपुलको हकमा यो लागू भएन जबकी २००८-०९ को सिजनमा समेत लिभरपुललाई यस्तै भएको थियो। तर गत सिजनमा लिभरपुललाई भाग्यले पनि निकै साथ दिएको थियो जस्तो बराबरमा टुंगिन लागेका खेलमा समेत लिभरपुलले पूर्ण अंक प्राप्त गरेको थियो तर सिटीको घरेलु मैदानमा खेल २–१ ले हार्नाले उपाधि गुमाउन पुग्यो।
अहिलेको सफलताको श्रेय क्लोपलाई जान्छ त?
क्लोपले जति खेलाडी ल्याए धेरै जसो सानो क्लब र कम मूल्यमा भित्र्याए। रोबर्टसन र गिनी विनहाल्डमलाई रेलिगेसन भैसकेका क्लब क्रमश: हल सिटी र न्युकासल युनाइटेडबाट, साडियो माने र भर्जिल भ्यान डाइकलाई साउथह्याम्टन तथा जोल माटिपलाई सित्तैमा भित्र्याएका हुन्।
भ्यान डाइक भित्र्याएपछि डिफेन्समा व्यापक सुधार हुन् र बालोन डि ओरमा मनोनित हुनु क्लबका लागि पनि गौरवको विषय हो।
कुनै एकै खेलाडीमा मात्र टिम भर पर्ने अवस्थाबाट पार गर्दे विगत वर्षहरूमा भन्दा खेलाडी र टिममा जुन निखार ल्याए त्यसको मुख्य श्रेय प्रशिक्षकलाई नै जान्छ।
लिभरपुल नियुक्त भइसकेपश्चात् पहिलो अन्तर्वार्तामा अविश्वासबाट माथि उठेर विश्वासमा बदल्नुपर्नेमा जोड दिएका थिए।
त्यस्तै, यदि चार वर्षभित्र कुनै उपाधि नजिते स्विट्जरल्याण्डमा गएर क्लब व्यवस्थापन गर्ने बताएका उनले दुई वर्ष लगातार च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याइ अहिलेको युरोपियन तथा विश्व क्लब विजेता बनाएका छन्।
क्लोप ४–३–३ को फर्माटलाई बढी जोड दिने गरेका छन्। डिफेन्सिभ मिडफिल्डरलाई पछि ल्याएर दुई फुल व्याकलाई अगाडि बढाउँदा उनीहरूकै क्रसबाट बढी गोलहरू भैरहेको छ साथै काउन्टर, हाइ प्रेस तथा व्याक ट्रयाक खेलाउन पनि माहिर छन् जस्तो कि टयाक्टिल जोसे मोरिन्हो, एन्टीनिओ कोन्टे भन्दा फरक।
मिडफिल्डमा केही सुधार आवश्यक देखियता पनि प्रत्येक खेल पिच्छे सुधारिएको प्रदर्शन हुँदै आइरहेको छ, निकै नै सरल, साधारण तथा खेलाडीसग साथित्वको भावना राख्ने क्लोपलाई सबै खेलाडीले पनि उत्तिकै साथ दिएका छन्।
प्रशिक्षकले इगोका कारण धेरै खेलाडीको क्यारियर डुबाइदिएको इतिहास छ र चाहेमा डुबाउन पनि सक्छन् जुन क्लोपमा कत्ति पनि देखिन्न। खेलाडी अलि सफल भयो कि क्लबमा बस्न नमान्ने प्रवृद्धि तोडिँदै क्लब युरोपियन पावरहाउसको दर्जामा पुगिसकेको छ।
यसले गर्दा खेलाडी भित्र्याउन पनि सजिलो हुन्छ र विज्ञापनबाट आम्दानी पनि बढी पाइन्छ। केलियन एम्बाप्पे जस्ता सुपरस्टार पनि लिभरपुलले चाहे भित्र्याउन सक्ला तर क्लोपले धेरै लगानी गरेर सफलता हासिल गर्न खोजेका छैनन्।
क्लोपले हालसम्म ४०१ मिलियन पाउण्ड खर्च गरे जसमध्ये ३२७ त खेलाडी बेचेर उठिसकेको छ भने उनले सम्हाल्दा पूरा टिमको मूल्य ३६० मिलियन बाट बढेर १.८३ विलियन पाउण्ड भएको छ। यसरी हेर्दा ग्वार्डिओलाभन्दा यिनको लगानी निकै कम रहेको छ जसले गर्दा उनको तारिफ सर एलेक्स फर्गुसनले समेत गर्ने गरेका छन्।
के लिग उपाधि जितिसक्यो त?
अहिले सबैजसो ब्रिटिस मिडिया तथा प्रशिक्षकहरूले लिभरपुलले लिग जितिसक्यो भनेका छन्। यस सिजनबाट सुरूआत गरेको भार (भिडिओ असिसटेन्ट रेफ्री ) को सहायताले समेत अन्य ठूला क्लबभन्दा लिभरपुलले बढी अकं हासिल गर्न मद्दत गरेको देखिन्छ।
विभिन्न स्रोत अनुसार लिभरपुलले ९८ प्रतिशतले जितिसक्यो तर गणितीय आधारमा कहिले जित्छ भन्ने मात्र बाँकी छ भनिएता पनि प्रिमियर लिगमा जे पनि हुन सक्ने हुनाले क्लोप अझै ढुक्क हुन सकेका छैनन्। तथापी खेल हेर्दा विजेताको जस्तै देख्न पाइन्छ चाहे त्यो बल पोसेसन होस वा आक्रमणमा।
नयाँ रेकर्ड कायम हुन सक्ने
यही सिजनमा लिभरपुलले एक रेकर्ड त सुरूआती २१ खेलबाट ६१ अंक हासिल गरेर राखिसक्यो जुन यसभन्दा अघि युरोपका मुख्य पाँच लिगमा कुनै क्लबले पनि प्राप्त गर्न सकेका थिएनन्।
यही अनुपातमा सबै क्लबले अकं हासिल गर्दै जाने हो भने सिजनको ३० भिडन्त जुन मार्च १४ मा छिमेकी प्रतिद्वन्द्वी इर्भटनसँगको भिडन्तमा लिग जितिसक्नेछ। यसमा पनि एक रेकर्ड ब्रेक नै हुनसक्ने छ जुन यसअघि म्यानचेष्टर युनाइटेडको नाममा रहेको छ जसले २०००-०१ को सिजनमा अप्रिल १४ मा नै जितेको थियो।
यस बाहेक एकै सिजनमा बढी अकं हासिल गर्ने तथा सबभन्दा बढी खेल जित्ने रेकर्ड (म्यानचेष्टर सिटीको सिजन २०१७–१८ मा १०० अंक तथा ३२ खेल जितेको), तर सिजन छोडी वर्षलाई हिसाब गर्दा यो लिभरपुल तोडिसकेको छ।
गत वर्ष २०१९ मा समान खेलबाट १०४ अकं प्राप्त गर्ने रेकर्ड कायम गरिसकेको छ।
सबभन्दा बढी घरेलु मैदानमा जित (१८, यो विभिन्न सिजनमा दुवै म्यानचेष्टर तथा चेल्सीको नाममा रहेको ) तथा सबभन्दा बढी विपक्षी मैदानमा जित ( १६, यो म्यानचेष्टर सिटीको नाममा रहेको ) यस्ता रेकर्ड यस सिजनमा तोडिने प्रवल संभावना रहेको छ।
सबभन्दा महत्वपूर्ण कुरा आर्सनलले सिजन २००२–०३ मा राखेको अपराजित यात्रा, यो प्रिमियर लिग सुरू भएपछि अन्य सिजनमा कसैले राख्न सकेका छैनन, जुन निकै चुनौतीपूर्ण रहेको छ। यो समेत कायम राख्न सक्ने संभावना देखिएको छ।
के लिभरपुलले लिग गुमाउन सक्ला त?
अहिलेको खेल हेर्दा त्यस्तो लाग्दैन, कुनै कुनै खेलमा भाग्यले साथ दिएता पनि जब लेष्टरलाई ४–० ले उसैको घरमा हराउँदा होस् वा सेफिल्डलाई २–० ले हराउँदा होस् सुन्दर तथा एकतर्फी खेल प्रदर्शन गरेको थियो।
यसबाट हेर्दा लिभरपुलले उपाधि गुमाउँदैन तर क्लबहरूको हैसियतमा खासै अन्तर नभएकोले अन्य नतिजालाई पनि नर्कान सकिन्न।
यदि गुमाइहाल्यो भने त्यो भन्दा खराब रेकर्ड प्रिमियर लिग अरु हुने छैन, जुन न्युकासल युनाइटेडको नाममा रहेको छ। लिभरपुलका पूर्वखेलाडी केभिन किगन व्यवस्थापक रहेको न्युकासलले १९९५–९६ को सिजन मध्यावधीसम्म म्यानचेष्टर युनाइटेडभन्दा १२ अंकले अगाडि रहेको थियो तर सिजनको अन्त्यमा विजेता युनाइटेडभन्दा ४ अंकले पछि पर्यो।
अन्त्यमा सन् २००० सम्म ठूला चार टिम भनिएकोमा २०१० पछि म्यानचेष्टर सिटी र टोटनहयाम नि थपिए भने अहिले लेस्टर र वोल्भसलाई डार्क हर्सको रूपमा हेरिएको छ।
अर्को वर्ष घरेलु फ्यानको लागि चर्चित लिड्स युनाइटेडको बढुवा भएमा तथा न्युकासल पनि प्रिमियर लिगमा यथावत् रहिरहेमा ठूलो लगानीको संभावना रहेको छ।
जसले गर्दा प्रत्येक वर्ष उपाधि जित्न कठिनाइ बढ्दै गइरहेको छ। अन्य वर्षहरूमा पनि लगातार उपाधि जित्न सकेन भने क्लब सफल भएको मानिँदैन। यो एक सिजनको भाग्य मात्र हुनेछ तर अहिलेको खेल र खेलाडी हेर्दा लिभरपुलको दबदबा प्रिमियर लिग र युरोपियन प्रतियोगितामा रहिरहेनछ।
(लेखक बृहत जलधार व्यवस्थापन केन्द्र, महाकालीमा, जलाधार व्यवस्थापन अधिकृत रूपमा कार्यरत छन्।)