सहिद स्मारक ए डिभिजन लिगको साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले सिजनमा पाँचौ जित हात पारेको छ।
मनाङले बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा संकटा क्लबमाथि ३-० को जित हात पार्यो।
मनाङका लागि अञ्जन विष्ट र निशान लिम्बुले गोल गरे। एक गोल मनाङले उपहार स्वरुप पायो।
खेलको ४२ मिनेटमा संकटाका अमित तामाङले आफ्नै पोस्टमा गोल गर्दा मनाङले अग्रता लिन सफल भयो।
मनाङले एक मिनेटपछि नै अग्रता दोब्बर पार्यो। मनाङका लागि अञ्जनले दोस्रो गोल गरे।
७१ मिनेटमा निशानले तेस्रो गोल गर्दा मनाङ जिततर्फ अघि बढेको थियो।
जितपछि ९ खेलबाट १९ अंक जोडेको मनाङ तेस्रो स्थानमा कायम छ। दोस्रो स्थानको मच्छिन्द्र क्लबको पनि १९ अंक नै छ। शीर्ष स्थानको आर्मीले २० अंक जोडेको छ।
संकटा भने १२ अंकसहित आठौं स्थानमा छ।