द्वन्द्वका बेला नेपाली समाजले बेहोरेको छटपटीलाई केन्द्रमा राखेर बनेको चलचित्र ‘उमा’ यतिबेला हलहरूमा चलिरहेको छ ।
एउटै परिवारका कुनै सदस्य प्रहरी वा सेनामा हुनु र कुनै सदस्य माओवादीमा लाग्नु युद्धका बेला आम परिस्थिति थियो । त्यसैलाई समातेर त्यो सिंगो कालखण्ड देखाउने चेष्टा सिनेमाले गरेको छ ।
कथाको सुरुवात एउटा ग्रामीण मध्यमवर्गीय परिवारको सामान्य दैनिकीबाट हुन्छ । कर्तव्यपालनकै सिलसिलामा ज्यान गुमाएको एउटा प्रहरीकी विधवा, उसको उत्तिकै कर्तव्यनिष्ठ असई छोरा र पढ्दै गरेकी छोरी। स्कुल पढाउने गुरु कवि हुन्छन् । उनका कविताले केही स्कुले केटाकेटीलाई तान्छ । विस्तारै विद्रोही चरित्रका गुरुको विचारसँग ती विद्यार्थी नजिकिन थाल्छन् । द्वन्द्वकालीन समयका ती गुरु सुरक्षाकर्मीको नजरमा सहजै ‘माओवादी’ बन्न पुग्छन् । मारिन्छन् । कथा सुरु हुन्छ ।
सिनेमा दुई दाजुबहिनीबीचको द्वन्द्व र त्यसको माझमा यातना भोग्ने आमामा प्रवेश गर्छ । विभेदरहित समाजको परिकल्पना गर्नेहरूसँगको उठबसमा विचार हुर्काएकी बहिनी र कर्तव्यबाट एक इन्च नहट्ने दाजु दुवै कसैसँग सम्झौता गर्दैनन् । सिंगो परिवार क्रमशः पिल्सँदै जान्छ । परिबन्दमा परेरै एउटा घटनाले त्यो बहिनीलाई भाग्नुपर्ने अवस्थामा पु¥याउँछ र ऊ माओवादी बन्छे । दाजुबहिनीबीचको खाल्डो झन्झन् गहिरो बन्दै जान्छ, एउटा वियोगान्तमा पुगेर सिनेमा नटुंगिउन्जेल ।
द्वन्द्वकालीन समयमा नेपाली समाज अनगिन्ती उथलपुथलबाट गुज्रिए पनि त्यस्ता घटनालाई स्वतन्त्र रूपले देखाउने प्रयास कमै भएका छन् । उमामा सबैभन्दा पहिले प्रशंसा गर्नुपर्ने ठाउँ यसले दुवै पक्षप्रति तटस्थ रहेर वर्णन गरेको कथा हो । मानवीय संवेदनामा केन्द्रित कथाले द्वन्द्वपक्षीय दुवै धारलाई आफ्नो भनाइ राख्ने ठाउँ दिएको छ । त्यो नै अहिलेको नेपाली सिनेकर्मीहरूमा नपाइने दुर्लभ गुण हो । सिनेमामा इन्स्पेक्टर मारिन्छन् । दर्शकको मनमा ‘कठै’ आउँछ । सिनेमामा माओवादी मारिन्छन् । त्यही दर्शकको मनमा ‘कठै’ आउँछ । जबकि दुवै मारिनुका पछाडिको परिस्थिति मजाले विकास भएको हुन्छ ।
यसरी पात्रहरूको निर्माण, चरित्र विकास र उनीहरूबीचको सम्बन्ध प्रस्तुतिमा अब्बल रहेको यो सिनेमा निर्माणका हिसाबले चाहिँ प्रश्नरहित बन्न सकेको छैन ।
छिरिङ रितार शेर्पा नेपाल मात्र नभई विश्वभरि नेपाली सामग्री हेर्ने दर्शकले सम्भावना देखेका प्रतिभा हुन् । पहिलोपटक उनले आफ्नै तिब्बती शरणार्थी परिवेशमा बनाएको वृत्तचित्र ‘स्पिरिट डजन्ट कम एनिमोर’ बाह्य संसारले मन पराएको नेपालीद्वारा निर्मित थोरै वृत्तचित्रमा पर्छ । थुप्रै वृत्तचित्र दिएका छिरिङले यसअघि पनि ‘मुखुण्डो’ र ‘कर्मा’ जस्ता अलग धारका सिनेमा बनाएका छन् ।
‘उमा’ बनाउँदा छिरिङले सिनेमाहल जाने बहुसंख्यक नेपाली दर्शकलाई आफ्नो ‘कन्भिन्सिङ’ सिनेमामा कसरी तान्ने भनेर भरमग्दुर प्रयत्न गरेका छन् । उनले गीत हालेका छन्, मारामार देखाएका छन् र सेक्स पनि छ । मारामार र सेक्स जति स्वाभाविक छ, गीतलाई पनि गजबको खुबीबाट बजाएका छन्, नचाएका छन् ।
उतिबेलै गोपाल योञ्जनले बनाएको ‘वनकी चरी सानी, नचाऊ मलाई पनि, तिमीजस्तै छमछम’ लाई उनले सही ठाउँमा सही किसिमले देखाएका छन् । जनवादी गीत र नृत्य त स्वाभाविक भई नै हाल्यो । त्यसैगरी सिनेमा क्लाइमेक्समा पुग्दै गएपछि अभया सुब्बाको गीतले पनि दृश्य सुहाउँदो मुडमा दर्शकलाई लैजान सघाउँछ । तुलसी घिमिरे र उनको ‘हमाल’ हिरोले एकैछिन भए पनि दर्शकको एकाग्रता भंग गर्छन् । सिनेमा बनाउँदा यस किसिमको निर्देशकीय उपाय आवश्यक हुन्छ । सामान्य निर्देशकले यस्तो स्थानमा हँसाउने पात्र वा अस्वाभाविक चरित्र प्रयोग गर्छन् । तर, छिरिङले यहाँनिर त्यसबाट पनि फाइदै उठाएका छन्, द्वन्द्वका बेला सिनेकर्मीहरू कति प्रताडित थिए भन्ने देखाएर ।
सिनेमामा लगातार बाजी मार्दै आएका छिरिङ अन्त्यमा भने नराम्ररी चुकेका छन् । भारततिर पनि निकै सस्तो व्यावसायिक निर्देशकले अपनाउने बाटो प्रयोग गरेर उनले सिनेमाको अन्त्य गरेका छन् ।
सिनेमाका अन्य पाटामा मसला हाल्नु छिरिङको गल्ती देखिँदैन । तर, यसलाई बढाउँदै लगेर सिनेमाको मूलकथाको क्लाइमेक्समा तितै हुनेगरी पोखिदिँदा त्यति राम्रोसँग अघि बढ्दै गएको सिनेमा अचानक नाटकीय अन्त्यमा गएर टुंगिन्छ । कथाअनुसार रुनुपर्ने हुन्छ तर प्रस्तुतिले दर्शकलाई अप्ठेरो पार्दै उठाउँछ ।
आमाको रूपमा अभिनय गर्ने मिथिला शर्मा, छोरी ऋचा शर्मा र छोरा सौगात मल्लले प्रत्येक परिस्थितिमा गरेको अभिनय स्वाभाविक छ, जीवित छ र दर्शक मनमा गहिरो प्रभाव पार्ने स्तरको छ । उनीहरू मात्र होइन, यस सिनेमामा प्रत्येक पात्रको सटिक चयन गर्ने कास्टिङ डाइरेक्टरकै प्रशंसा गर्नुपर्ने हुन्छ । त्यसमाथि ती सबै पात्रलाई उनीहरूको अघिल्लो सिनेमाभन्दा अझ राम्रोसँग काम लिन छिरिङ सफल भएका छन् । उदेकलाग्दो अन्त्यबाहेक बाँकी सबै मामलामा उत्कृष्ट रहेको सिनेमाको सबैभन्दा ठूलो विशेषता सम्पूर्ण पात्रको स्वाभाविक अभिनय नै हो । छायांकनको खुबी पनि उत्तिकै देखिन्छ ।
द्वन्द्वकालीन नेपाली समाजलाई बुझ्न एउटा उपयोगी कृति दिएका छन् छिरिङ रितारले । समकालीन नेपाली सिने उद्योगबाट आएको यो एउटा उत्कृष्ट प्रस्तुति हो ।