वौद्ध धर्मावलम्बीहरुले लाटिकोइलीस्थित काँक्रेविहार संरक्षित वनभित्र राखेको वुद्धको मुर्ती पुनः प्रहरीले नियन्त्रणमा लिएको छ। हिजो भएको सहमति अनुसार एक दिन पुजाका लागि काँक्रेविहारमा मुर्ती राख्न दिएपनि वौद्ध धर्मावलम्बीहरुले सधैका लागि त्यही राख्न खोजेपछि आज नियन्त्रणमा लिइएको स्थानीय प्रशासनले जनाएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले आज विहान काँक्रेविहार पुगेर मुर्ती नियन्त्रणमा लिएको हो। स्थानीय वौद्ध धर्मावलम्बीहरुले भने सडकमा टायर बालेर नारावाजीसहित अवरोध सिर्जना गर्न खाजेका थिए।
२५५७ औँ वुद्ध जयन्तीको अवसरमा यहाँको वौद्ध धर्मावलम्बीहरुले गत शनिबार काँक्रेविहारमा मुर्ती स्थापना गर्न खोजेका थिए। तर संरक्षित वनभित्र कुनै पनि भौतिक संरचना निर्माण गर्न नमिल्ने भन्दै प्रहरीले मुर्ती नियन्त्रणमा लिएको थियो। तर पुजाका लागि एक दिन फिर्ता दिने सहमति भएपछि हिजो प्रहरीले मुर्ती फिर्ता दिएको थियो।
उक्त स्थानमा कुनै संरचना निर्माण गर्दा वन विभागबाट स्वीकृति लिनुपर्ने जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख शम्भुपसाद चौरसियाले जानकारी दिए। यसका लागि वन विभागमा लिखित पत्र पठाइसकिएको समेत उनले जनाए।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी विश्वनिरञ्जन प्रधानले प्रक्रिया अगाडि बढाउन पनि जवर्जस्ती गर्न खाजेकाले समस्या उत्पन्न भएको बताए।