आगामी जेठ २३ गते हुन लागेको स्वतन्त्र विद्यार्थी यूनियनको चुनाव त्रिभुनव विश्वविद्यालयले स्थगित गरेको छ ।
विहिबार बसेको चार प्रमुख विद्यार्थी संगठनका प्रतिनिधिहरु र विश्वविद्यालयका पदाधिकारीहरुबीच भएको बैठकमा सहमती जुट्न नसक्दा स्ववियू चुनाव स्थगन भएको हो ।
पुरानो कार्यतालिका अनुसार आज चुनावका लागि उमेद्वार दर्ता गर्ने अन्तिम दिन थियो । एकीकृत नेकपा माओवादी निकटको अनेरास्ववियु क्रान्तिकारी र नेकपा–माओवादी निकटको अखिल क्रान्तिकारीले विभिन्न क्याम्पसहरुमा फर्जी भर्ना खारेज गर्नेलगायतका माग राखि तालाबन्दी गरेपछि निर्वाचन कार्यक्रम प्रभावित भएको हो ।
एक पक्षले भर्ना खारेजी गर्ने माग राखेको र अर्कोले यहि भर्नालाई सद्दर गराउनु पर्छ भन्ने कुरामा अडान रहदाँ आज नोमीनेशनको दिनसम्म पनि ताला नखुलेकोले चुनाव स्थगन भएको अनेराश्ववियु केन्द्रिय शैक्षीक विभागकी प्रमुख राधिका खतिवडाले जानकारी गराइन् । अर्को सूचना जारी नगरेसम्म चुनाव स्थगित भएको खतिवडाले बताइन् ।