वैदेशिक रोजगार विभागका कर्मचारीकै मिलेमतोमा नक्कली भिसा पेपर बनाई महिला कामदारलाई रोजगारीका लागि खाडी मुलुक पठाउने गरेको तथ्य खुलेको छ । युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले प्रमाणसहित कारबाहीका लागि पत्राचार गरेपछि सो तथ्य बाहिर आएको आजको राजधानीमा खबर छापिएको छ ।
दूतावासले केही म्यानपावर कम्पनीसहित वैदेशिक रोजगार विभागको कर्मचारीको मिलेमतोमा राजस्व छली गर्न नक्कली भिसा पेपर बनाएर श्रमस्वीकृति दिने गरेको पाइएको जनाई सरकारलाई पत्राचार गरेको थियो । तर, सो पत्र नै गायब भएको छ । नेपाली दूतावासले नक्कली भिसा पेपर बनाएर गैरकानुनी रूपमा घरेलु महिला कामदार पठाउने कार्यमा संलग्न म्यानपावर कम्पनीको नामसहित कारबाहीका लागि पठाएको पत्र वैदेशिक रोजगार विभाग र परराष्ट्र मन्त्रालयबाट गायब भएको स्रोत बताएको छ ।
घरेलु कामदारका रूपमा खाडी मुलुक आएका महिलाहरूको भिसा हाउसमेडको भए पनि नक्कली भिसा पेपर बनाई अन्यमै श्रमस्वीकृति दिने गरेको र कर्मचारीको मिलेमतोमा करोडौंको राजस्व छली गरेको प्रमाणसहित यूएईस्थित नेपाली दूतावासले परराष्ट्र र श्रम मन्त्रालयमा पत्राचार गरेको थियो । तर, लामो समय बितिसक्दा पनि कुनै कारबाही नगरी फाइल नै गायब बनाइएको स्रोतले बतायो ।
घरेलु कामदारका रूपमा खाडी मुलुक पठाउने म्यानपावर कम्पनी वा एजेन्टको सम्पर्कमा आएका सम्बन्धित मुलुकका नागरिकले दूतावासमा १ लाख १० हजार रुपैयाँ भन्दा धेरै धरौटी राख्नुपर्ने प्रावधान छ । तर, नेपालका म्यानपावर कम्पनी र तिनका एजेन्टले वैदेशिक रोजगार विभागकै कर्मचारीको मिलेमतोमा घरेलु कामदारको भिसा हुँदाहुँदै क्लिनर र अन्यमा श्रमस्वीकृति दिने गरेको पाइएको हो । घरेलु कामदारको भिसाबाट श्रमस्वीकृति लिनु पर्दा राजस्वसमेत धेरै भुक्तान गर्नुपर्छ ।
यूएईमा घरेलु कामदारका रूपमा ल्याइएका महिलामध्ये ९५ प्रतिशतको श्रमस्वीकृति नक्कली भएको दूतावासले जनाएको छ ।