काठमाडौं, जेठ ७– ‘तिमीलाई जन्मदिनमा के उपहार चाहिन्छ?’
बाले आफ्नी ‘प्यारी’ छोरीलाई सोधे।
बाको मनोविज्ञान भित्रैदेखि बुझेकी छोरी यही मौकाको पर्खाइमा थिइन्।
फ्याट्टै उत्तर दिइन्, ‘सगरमाथा।’
एकछिन सामसुम्म भयो। दुवै केही बोलेनन्।
छोरीको सगरमाथा चढ्ने धोको बालाई पहिल्यै थाहा थियो। यसअघि धेरैचोटि अनुमति मागिसकेकी थिइन्। सधैं उनको एउटै जवाफ हुन्थ्यो, ‘नो (हुन्न)।’
पर्वतारोहणमा टक बसेकी छोरीले आधा दर्जनभन्दा बढी हिमाल चढ्दासम्म उनले केही भन्न सकेका थिएनन्। जब सगरमाथाको कुरा उठ्थ्यो, उनी तर्सन्थे। संसारकै सर्वोच्च शिखरमा चढ्न पठाउनु भनेको छोरीलाई सधैंको निम्ति बिदावारी गर्नु पनि हुन सक्थ्यो।
छोरी र बाबीच लामो समय ‘मौन’ ठास्सठुस्स चलिरह्यो।
अन्ततः छोरीले यस्तो दिन छानेर सगरमाथाको माग राखिन्, जुन दिन उनी चाहेर पनि पछि हट्न सक्दैनथे।
उनले ‘हुन्छ’ भने।
...
अनुहार हिउँले हल्का खाएछ। घामले डढेर अलि बढी नै राती देखिन्थिन्। कपाल बाटेकी थिइनन्। पछाडि झ्याम्ल्यांग छाडेको कपालमा कालो चस्मा अड्याएकी थिइन्। मंगलबार अपराह्न साढे चार बजे याक एन्ड यती होटलको बगैंचामा चलेको सिरसिर बतासले उनका कपाल फिरफिर हल्लिरहेका थिए।
सेतो सर्ट, निलो जिन्स र दुवै पाखुरामा कसिलो बाला लगाएकी यी २५ वर्षे साउदी युवती राहा मोहर्रक मंगलबार बिहान मात्रै सगरमाथा आधारशिविरबाट काठमाडौं झरेकी हुन्। आफ्ना बा हसन मोहर्रकबाट जन्मदिनको उपहार लिएर सगरमाथा चढ्न आएकी राहाले यही शनिबार चार सदस्यीय टोलीका साथ शिखर टेकेकी थिइन्।
‘परिवार र खासगरी बाको अनुमति लिनु मेरो निम्ति सगरमाथा चढ्नु जत्तिकै चुनौतीपूर्ण रह्यो,’ याक एन्ड यतीको बगैंचामा केही पत्रकार र फोटोग्राफरसँग गफिँदै मोहर्रकले भनिन्, ‘मलाई त्यही बेला सगरमाथा शिखर पुगेझैं लागेको थियो, जतिखेर बाले हुन्छ भन्नुभयो।’
यसो भन्दा हिउँले खाएको उनको अनुहार आत्मसन्तुष्टिले उज्यालो भएर आयो।
आत्मसन्तुष्टिको कारण सगरमाथा आरोहण गरेर जन्मदिने उपहारको लाज राख्नुमात्र होइन, साउदी अरबकै पहिलो महिला आरोही हुनुको गौरवले पनि हो। सँगसँगै यस्तो देशको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्नुले, जहाँ आज पनि महिलाको निम्ति ‘अनुदार’ मानिएको कडा इस्लामिक कानुन लागु छ। र, जहाँका महिलाले खेलकुदमा स्वतन्त्र भाग लिन पाएको भर्खरै एक वर्ष पुग्दैछ।
सन् २०१२ को लन्डन ओलम्पिक्समा पहिलोचोटि साउदी अरबले दुई महिला खेलाडीलाई भाग लिन अनुमति दिएको थियो। अनुमति नदिए साउदी अरबलाई ओलम्पिकबाटै निष्कासन गर्न अन्तर्राष्ट्रिय अधिकारकर्मीहरूले दबाब दिएका थिए। त्यसपछि मात्र महिला धावकको निम्ति विशेष बुर्का डिजाइन गरेर प्रतिस्पर्धामा ओरालिएको थियो।
साउदी अरबले यही मे महिनाको सुरुतिर केटीहरू पढ्ने निजी स्कुललाई खेलकुद गतिविधि सञ्चालन गर्ने अनुमतिसमेत दिइसकेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्।
यी परिस्थितिबीच हिमाल आरोहणजस्तो जोखिमपूर्ण साहसिक कार्यमा राहाको फड्कोले मध्यपूर्वको बदलिँदो जीवनशैली र सुधारको संकेत गर्छ।
‘मध्यपूर्वका महिलाप्रति हामीले जस्तो धारणा बनाएका थियौं, तपाईंलाई हेर्दा त्योभन्दा एकदमै भिन्न स्थिति देखिन्छ, के मध्यपूर्व परिवर्तन हुँदैछ?’
मेरो प्रश्नमा राहाले उल्टै प्रतिप्रश्न गरिन्, ‘तपाईंले मलाई हेरेर के धारणा बनाउनुभयो।’
साउदी अरबको जद्धाहामा जन्मिएकी राहाले आफूलाई मध्यपूर्वका प्रतिनिधि महिला पात्रका रूपमा उभ्याउन खोजिन्। अमेरिकी विश्वविद्यालयका स्नातक राहा साउदी अरबमा जन्मिए पनि संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा बस्छिन्, जुन मध्यपूर्वकै सबभन्दा उदार सहरका रूपमा चिनिन्छ। संसारकै अग्लो टावरदेखि मानवनिर्मित थुप्रै नवआश्चर्यले भरिएको यो सहर संसारकै आर्थिक केन्द्रका रूपमा विकास भएको छ।
‘तपाईंलाई हेर्दा परिवर्तन आएजस्तै देखिन्छ, तर यो नगन्य परिवर्तन हो कि यस्ता उदाहरण प्रशस्तै छन्,’ मैले सोधेँ।
‘हिमाल आरोहण एकदमै साहसिक र जोखिमपूर्ण भएकाले यसैमा लाग्नेहरूको संख्या कम छ,’ उनले भनिन्, ‘तैपनि पछिल्लो समय अन्य खेलकुद गतिविधिमा साउदी महिलाहरूको सहभागिता बढेको छ । त्यो हाम्रो सामाजिक र सांस्कृतिक परिवर्तन हो।’
उनले अघिल्लो ओलम्पिक्समा सहभागी भएर साउदी महिलाले खेलकुदमा अग्रसरताको उदाहरण दिइसकेको बताइन्।
‘यस्ता गतिविधिमा लाग्दा कट्टरपन्थी समूहहरूको धम्की आउने डर छ कि छैन?’
यो प्रश्नमा उनले आफ्ना दूतावासका प्रतिनिधितर्फ इंगित गर्दै भनिन्, ‘दूतावासका प्रतिनिधि यहीँ हुनुहुन्छ। देशले मेरो सफलतामा खुसी मनाइरहेको छ। यसमा डर वा धम्कीको गुञ्जायसै म देख्दिनँ।’
अफ्रिकाकै अग्लो किलिमान्जारो लगायत सातवटा हिमाल आरोहण गरिसकेकी उनलाई सबभन्दा ठूलो डर आफ्नै बा र परिवारको थियो, जसलाई उनले चलाखीपूर्वक जितिसकेकी थिइन्।
...
बाले ‘हुन्छ’ भनेपछि उनको आधा चुनौती त्यसै पूरा भयो। आधा चुनौती सगरमाथा चढेर पूरा गर्नु थियो ।
उनी नेपाल आइन्।
गएको शनिबार ६३ जना अन्य पर्वतारोहीसँगै सगरमाथा चढिन्।
र, आधारशिविर फर्केपछि पहिलो फोन आफ्ना बालाई गर्दै भनिन्, ‘मैले सगरमाथा चढेँ।’
तस्बिर क्याप्सन (माथिबाट क्रमशः तल):
- याक एन्ड यति होटलमा मंगलबार पत्रकारसँग कुरा गर्दै। तस्बिरः सेतोपाटी
- सगरमाथा आरोहण क्रममा।
- साउदी अरबमा केटीहरु फुटबल खेल्दै।
- राहाले सोमबार आफ्नो फेसबुकमा राखेको तस्बिर।