रातको दस बजिसकेको थियो।
मन नलागी–नलागी उठेँ । पिसाब च्यापिरहेको थियो । कफ्र्यु लागेको भए पनि बाहिर निस्केँ । यसअघि पनि कफ्र्यु लाग्दा चर्पी जान बाहिरै निस्कने गर्थें । त्यस दिन किन हो, डर लाग्यो । हतारहतार पिसाब फेरेँ । दुइटा सिँढी एकैचोटि फड्किँदै माथि उक्लेँ । कोठाभित्र छिरेँ । खाटमा बसेँ । कान चनाखो पारेर चारैतिर डुलाएँ । एकोहोरो कुकुर भुकेको आवाजमात्र आइरहेको थियो । अरू स¥याकसुरुक केही थिएन । बन्दुक वा बम पनि कतै पड्केको सुनिन्थेन।
मन ढुक्क भयो।
एउटा किताब उठाएँ । खाटमा पल्टेर पढ्न थालेँ।
दुईचार पाना पढेकीमात्र थिएँ, हाम्रो चर्पी भएको ठाउँतिर सर्याकसर्याक मान्छे हिँडेको आवाज आयो । कसैले खोकेजस्तो पनि लाग्यो।त्यसपछि किताबमा पटक्कै ध्यान गएन । दाइभाउजूको कोठातिर कान थापेँ । केही सुनिएन । सबैतिर सामसुम्म छ । मुटु ढुकढुक गर्न थाल्यो । उठेँ । किताब त्यत्तिकै तकियामाथि राखेँ । खाटमा टुक्रुक्क बसेँ । को होला बाहिर ? यो कफ्र्युमा को हिँडिरहेको होला ? भर्खरै त्यहाँबाट आएको ! केही थिएन ! गस्तीमा हिँडेका प्रहरी हुन् कि ? कतै माओवादी त आएनन्?
यस्तायस्तै प्रश्न खेलाइरहेकी थिएँ, एक्कासि पर्र मेसिनगन चलेको आवाज आयो । एकदमै नजिकबाट । आफ्नै टाउकोमाथि गोली बर्सिएजस्तो लाग्यो।
हतारहतार बत्ती निभाएँ।
त्यसबेला जाडो बढेकाले म दुइटा कम्मल र दुइटा सिरक प्रयोग गर्थें । कम्मल ओछ्याउँथेँ, सिरक ओढ्थेँ । म दुइटै सिरक च्यापेर खाटमा पल्टिएँ । मनमा कुरा खेल्न थाल्यो, यो हिजोअस्तिको जस्तो आवाज हो कि, साँच्चिकै भिडन्त?
सोच्न भ्याएकै थिइनँ, कानको जाली नै फुट्लाजस्तो फायरिङ सुरु भयो । सैनिक ब्यारेकबाट पनि जवाफी फायरिङ हुन थाल्यो । पर्र ... पर्र।
चारैतिरबाट आवाज आएको आयै।
माओवादीले हमला गर्यो भन्नेमा अब कुनै शंका रहेन।
यस्तोमा खाटमाथि बस्दा खतरा हुन सक्थ्यो । बलियो भित्ताको आड लागेर बस्नुपर्छ भन्ने सुरक्षा तालिममा सिकेकी थिएँ । तर, मलाई खाटबाट उठ्न मन लागेन । जे गरे पनि घरमा बम ठोक्कियो भने कुनै हालतमा बाँचिदैन भनेर ढुक्क थिएँ । त्यसैले, डरले थुरथुर भएर कछुवाले झैं टाउको लुकाउनुभन्दा निडर भएर भिडन्तको एकएक आवाज सुन्न थालेँ । बरु सिरकले गम्लंग मुख छोपेकी थिएँ, मानौं त्यसले बम र गोली नै छेक्नसक्छ । सुरक्षा निकाय र माओवादीतर्फबाट एकोहोरो लन्चर हानेको हान्यै भइरहेको थियो । घरको छतमाथि आगोको मुस्लो घरि यताबाट भुर्र उता जान्थ्यो, घरि उताबाट भुर्र यता आउँथ्यो । म कान चनाखो पारेर सबथोक अनुभव गरिरहेकी थिएँ।
बाहिर ‘अरुण... अरुण...’ भन्ने आवाजसँगै लगातार फायरिङ भइरहेको थियो । एकछिनमा विस्तारै सेलायो । लन्चर हान्न पनि बन्द भयो । पाट्टपुट्टमात्र आवाज आयो । त्योचाहिँ प्रहरीले गोली हानेको आवाज होला भन्ने लाग्यो । फेरि एकैचोटि ‘अरुण... अरुण...’ भन्ने आवाज आयो । अनि तीव्र फायरिङ सुरु भयो । छतमाथि आगोको मुस्लो यताबाट उता, उताबाट यता उड्न थाल्यो।
को होला त्यो अरुण भनेको ? कमान्डर होला ? मेरो मनमा यस्तै प्रश्न खेलिरहेका थिए । झ्यालबाट चियाउने त कुरै आएन । गोलीको आवाजले म अनुमानसम्म लगाउन सक्थेँ, बाहिर फाँटभरि भिडन्त भइरहेको छ । भीषण भिडन्त।
मेरो कोठा बाटोपट्टि फर्किएको थियो । जिल्ला प्रहरी कार्यालयको ढोकातिर । दुईवटा ठूला झ्याल थिए । झ्यालको बीचमा भित्ता थियो । हाँडीमा मकै पड्किएझैं भित्ता र छानाभरि भुटुटुटु गोली पड्किरहेका थिए । भित्तै छेडेर गोली आउला कि जस्तो भयो।
पहिले आक्रमणको हल्लाले मेरो मन जति आत्तिएको थियो, आक्रमण भइसकेपछि त्यति आत्तिएन । आत्तिएर के गर्नु ? जसरी हुन्छ सुरक्षित भएर बस्नुको विकल्प थिएन । तर, दिमाग शून्य थियो । कुनै जुक्ति आइरहेको थिएन । जे पर्ला, पर्ला भनेजस्तो भयो।
मेरो कोठाको दाहिनेपट्टि बरन्डाको छेउमा भानु देवकोटाको कोठा थियो । उनी श्रीमती र छोरासँग बस्थे । त्यस दिन एक्लै रहेछन् । भानुसँग अरू बेला खासै कुराकानी हुन्थेन । बाटोमा देखिए खिस्स हाँस्नेमात्र । असिना बर्सिएजस्तो गोली बर्सिन थालेपछि बिचरा खुब डराएछन् । डर र रुवाइ मिश्रित स्वरमा ‘राधा दिदी, राधा दिदी’ बनेर बोलाए।
मैले उनको आवाज त सुनेँ, तर जवाफ दिन मन लागेन । उनी मसँग सहयोग मागिरहेका छन् भन्नेचाहिँ राम्ररी नै थाहा भयो । बरन्डापारिबाट सुनील दाइ पनि ‘राधा, राधा’ भनिरहनुभएको थियो । मैले उहाँलाई पनि जवाफ फर्काइनँ । चुपचाप पल्टिरहेँ।
त्यत्तिकैमा सुनील दाइ मेरो ढोका ढक्ढकाउनै आइपुग्नुभयो।
मैले ढोका उघारेँ । उहाँले मलाई तानेर बाहिर निकाल्नुभयो । हाम्रो आवाजले भानु पनि बाहिर निस्के।
जुनेली रात थियो । बाहिर बरन्डाबाट देखेँ, सिडिओ अफिसदेखि हामी बस्ने घरसम्म मान्छेको ठूलो हुल रहेछ । सलह बगेजस्तो देखिन्थ्यो, माओवादी फौज । एक लहर हुर्र अघि बढ्थ्यो, अर्को लहर पछ्याउँदै आउँथ्यो । त्यसको पछाडि फेरि अर्को लहर । चारैतिर गोली र बमको आवाजमात्र सुनिँदै थियो । गोली चल्दा बन्दुकबाट छुट्ने आगोका झिल्काले मेरा आँखा तिरमिर भए।
दाइले मलाई आफ्नो कोठाभित्र हुल्नुभयो । भित्र भाउजू हुनुहुन्थ्यो, अनुहार कालोनीलो पारेर खाटमा बसिरहनुभएको । रुनु त भएको थिएन, तर निकै त्रसित देखिनुहुन्थ्यो । मसिनो स्वरमा भन्नुभयो, ‘अब हामी बाँच्दैनौं राधा।’
मलाई त्यस्तै लागेको थियो । केही बोलिहाले रुवाबासी चल्ने हो कि भन्ने डर थियो । त्यसैले, चुप्पै बसेँ।
तीनजना केटाकेटी भुइँमा लस्करै सुतिरहेका थिए । मैले दाइभाउजूलाई गाली गर्दै उनीहरूलाई खाटमा कुनापट्टि सार्न लगाएँ । कोठाको त्यही एउटा कुनो अलि बलियो थियो । ढुंगा र माटोको पर्खाल लगाएको । झ्याल नभएको।
हजुरआमा र ठूलो छोरालाई नदेखेर आत्तिँदै सोधेँ, ‘हजुरआमा र बाबु खोई त?’
उनीहरू दुवै भुइँतलामा सुत्थे । तलै रहेछन् । यत्रो ठूलो काण्डमा बिचरी बूढी मान्छे र सानो बच्चा एक्लै परेछन् । ओहो, कति आत्तिए होलान् दुवै ! मलाई त सम्झँदै कहाली लागेर आयो।
अघिदेखि ‘राधा दिदी, राधा दिदी’ भनिरहेका भानु भाइचाहिँ दाइभाउजूको कोठाभित्र छिर्नेबित्तिकै सरासर खाटमुनि घुस्रेछन् । हामीलाई पनि खाटमुनि डाक्दै थिए । म र दाइ मानेनौं । घरमा बम पर्यो वा आगो सल्कियो भने खाटमुनि भए पनि, माथि भए पनि बाँच्ने सम्भावना थिएन । भानुको ओठमुख सुकेको सजिलै थाहा हुन्थ्यो । मुख बाक्लो थुकले च्यापच्याप्ती भएको सुनिन्थ्यो । बोल्दा पनि ओठ बजेको प्याकप्याक आवाज आइरहेको थियो । डरले हो कि जाडोले, उनी थरथर कामिरहेका थिए । मलाई उनको हालत देखेर माया लागेर आयो।
‘सिरक दिऊँ,’ मैले सोधेँ।
उनले ‘नाइँ’ भने।
‘पानी खान्छौ त ?’ फेरि सोधेँ।
उनले ‘पर्दैन’ भने । खालि खाटमुनि कामेर बसिरहे।
दाइ एकनासले छटपट–छटपट गरिरहनुभएको थियो । उहाँ म र भाउजूको खुट्टातिर बस्नुभएको थियो । कहिले झ्यालका कापबाट बाहिर चियाउनुहुन्थ्यो । कहिले हामीसित सोध्नुहुन्थ्यो, ‘अब के गर्ने?’
भाउजू त सास दबाएर खाटमा पल्टिनुभएको थियो । केही बोल्नुभएन । मैले पनि के गर्ने भन्नु र ? कुनै बिरामीलाई उपचार गर्नुपरेको भए पो यसरी गर्ने भनुँ?
बिरामीको विचार मनमा आउनेबित्तिकै अस्पताल सम्झेँ । अस्पतालमा केही महत्वपूर्ण निर्माण भइरहेका थिए । हाम्रो अफिसले नयाँ अस्पताल भवन बनाउँदै थियो । त्यो भवन नबनुन्जेललाई भएकै स्रोतसाधनबाट अपरेसन र सुत्केरी कोठाको चाँजोपाँजो मिलाउँदै थिएँ । सुत्केरी सेवाको निम्ति भण्डारबाट सामानहरू जुटाएर निर्मलीकरण गर्न सुरु भएको थियो । ती सामान माओवादीले चलाइदिए कि भन्ने डर लाग्यो । अस्पताल निर्माण पूरा नगरी कुनै हालतमा जुम्ला छाड्दिनँ भन्ने मेरो प्रतिज्ञा थियो । अब यो हमलाले योजना अल्झिने भयो भनेर चिन्ता लागेर आयो । मै यहाँ भुक्लुक्कै मरेँ त ठिकै थियो, नत्र फेरि कहिले योजना थालेर, कहिले पूरा गर्ने भनी चिन्तित भएँ।
अस्पतालका हरेक कोठा मेरा आँखामा नाच्न थाले । कर्मचारीहरूलाई सम्झेँ । त्यस दिन रोशना कँडेलमात्र क्वार्टरमा थिइन् । उनको साँझको ड्युटी थियो । प्रायः एक्लै पर्दा म साथीहरूलाई आफ्नै कोठामा ल्याउँथेँ । त्यस दिन भने उनको ड्युटी सकिने बेलासम्म कफ्र्यु लागिसक्ने हुँदा आउने अवस्था थिएन।
म उनलाई सँगै नल्याएकोमा पछुतो मान्न थालेँ । माया पनि लाग्यो । उनलाई दमको रोग थियो । अस्पतालको क्वार्टर त्यति सुरक्षित थिएन । डरले दम बढेर बेहोस भइन् कि ? वा आक्रमणकारीले ढोका फोरेर केही गरे कि ? यस्तायस्तै नराम्रा विचार मेरो मनमा आउन थाले । राम्रो विचार गर्ने त समय नै कहाँ थियो र?
झट्ट बाको अनुहार याद आयो । उहाँलाई पेटको रोग छ । बिदामा जाँदा आफैं लगेर ओखतीमूलो गराइरहनुपर्छ । अस्ति भर्खरै हर्नियाको अपरेसन भएछ । म टाढा छु भनेर सुरुमा खबर गर्नुभएन । पछि फोनमा ‘अपरेसन राम्रो भएको’ सुनाउनुभयो।
‘तेरा सबै साथीले पिएचडी गरिसके, तँ कति दिन जुम्ला–जुम्ला भनेर बसिरहन्छेस्,’ उहाँ बेलाबेला मलाई सम्झाउन खोज्नुहुन्थ्यो।
जस्तोसुकै आदर्शको कुरा गरे पनि आफ्नी छोरी एक्लै जुम्लाजस्तो ठाउँमा बसिरहोस् भन्ने कुन बाबुले चाहन्छ र ? म उहाँको मनको कुरा बुझ्थेँ।तर, भावनामा बगेर आफूले थालेको काम अधुरै छाडी फर्कनु पनि त भएन।
‘मेरो सुर्ता नलिनू न बा,’ म जवाफ दिन्थेँ, ‘म जहाँ छु, ठिक छु।’
उहाँ त्यसपछि केही भन्न सक्नुहुन्थेन । खुइयय गर्दै चुप लाग्नुहुन्थ्यो।
आमालाई सम्झेँ । उहाँ खासै केही भन्नुहुन्न । म घर छाडेर जुम्ला बसेकोमा खुसी पनि हुनुहुन्न । कहिलेकाहीँ यत्ति भन्नुहुन्छ, ‘तैंले चितवनमै बसेर काम गरे हुन्न?’
आमाबालाई सुख दिन सकिनँ भन्ने तर्कनाले मेरा आँखा रसाए । दिदीबहिनीलाई सम्झेँ । भाइलाई सम्झेँ । अहिले सबै सुतिसके होलान् । भोलि बिहान जुम्लाको खबर थाहा पाउनेछन् । त्यतिबेलासम्म एउटा पार लागिसक्ला ! सास रहे, फोन गरुँला । नभए यो जन्ममा यत्ति नै भयो । आमाबाको भार एकअंश नतिरी मरिने भइयो।
मेरो मन एकतमासको भएर आयो।
दाइभाउजू बारम्बार चन्दननाथ र भैरवनाथको नाम फलाकिरहनुभएको थियो । मैले पनि एकचोटि पशुपतिनाथलाई सम्झेँ । मनमनै भनेँ, ‘हे पशुपतिनाथ, तिमीले सबथोक देखिरहेका छौ, जे मन लाग्छ गर।’
हाम्रो घर कृषि केन्द्रको पर्खालसँग जोडिएको छ । मलाई लाग्यो, माओवादीहरू त्यही पर्खालको आड लिएर फायरिङ गरिरहेका छन् । पर्खाल अग्लो भएकाले उनीहरू अडेस लागेर बसेका भए उज्यालैमा पनि देख्न सकिन्थेन । आवाज भने राम्ररी सुनिन्थ्यो । उनीहरूले बन्दुकको ह्यान्डल तानेको झ्याकझ्याक आवाजधरि प्रस्टै सुनिरहेका थियौं । हरेक चार-पाँच मिनेटमा फायरिङ मत्थर हुन्थ्यो । ‘अरुण... अरुण...’ भन्ने आवाज चर्किन्थ्यो । फेरि गोली बर्सिन थाल्थ्यो । यस्तो लाग्थ्यो, सबै आक्रमणकारीले गोलीको माला पहिरेका छन् र लगातार फायरिङ गर्दैछन् । सकिने नामनिसान थिएन।
आवाजको प्रकृति र झ्यालबाट चियाएर हेरेको हिसाबले आक्रमणकारीहरू सिडिओ कार्यालय र सैनिक ब्यारेकलाई ताकिरहेका छन् भन्ने लाग्यो । चियाउँदा–चियाउँदै सिडिओ कार्यालयबाट आगोको मुस्लो उठ्न थाल्यो । दनदनी आगो दन्कियो । त्यसको उज्यालोमा कार्यालय वरपर ग्वारग्वार्ती मान्छे हिँडिरहेको देखियो।
दाइले मेरो मौनता भंग गर्दै सोध्नुभयो, ‘सिडिओ बड्डा (बूढा) के भए होलान्?’
म झसंग भएँ । अघि दिउँसोमात्र सिडिओ दामोदर पन्तजीसँग कुराकानी गरेको घटना सम्झिएँ । उहाँको झोक्राएको अनुहार याद आयो । त्यतिखेरै उहाँको अनुहार देखेर केही बितन्डा हुँदैछ भन्ने मलाई लागेकै हो।
रातको दुई बजेसम्म कडा प्रतिस्पर्धामा भिडन्त भयो । करिब दुई बजे घटटटट गर्दै हेलिकोप्टर उडेको आवाज सुनियो । राति पनि उड्न सक्ने नाइटभिजन हेलिकोप्टर होला भन्ने लाग्यो । सरकारले माओवादीसँग भिड्न यस्तो हेलिकोप्टर झिकाएको छ भन्ने खबर पढेकी थिएँ ।
हेलिकोप्टर उडेको आवाजले मलाई युद्ध रोकिन्छ भन्ने आस जाग्यो । रुम्जाटारको भिडन्तमा नाइटभिजन गएपछि आक्रमण रोकिएको थियो भन्ने सुनेकी थिएँ । ज्यान बच्यो भनेर अलिअलि खुसी भएँ । तर, मैले सोचेभन्दा विपरीत भयो।
नाइटभिजनले खलंगा बजारकै चक्कर लगाइरहेको थियो । आकाशबाटै बम र गोली बर्साउन थाल्यो । यही बममा परेर हाम्रो माटोको घर माटोमै बद्लिएला कि भन्ने डर लाग्यो । केटाकेटी छँदा असारताक नयाँ घाँस वा मकै खाएका भैंसीले ट्वारट्वार गर्दै छेरेको देखेकी थिएँ । यहाँ आकाशबाट जमिन र जमिनबाट आकाशतिर ताकेर त्यस्तै ट्वारट्वार आवाज निकाल्दै गोली हान्ने र फर्काउने भइरहेको थियो।
करिब एक घन्टाको कहालीलाग्दो भिडन्तपछि नाइटभिजन फर्कियो । दाइले र मैले कुरा गर्यौं, इन्धन सकियो होला।
अघिदेखि डराएर बसेकीले मलाई एकदमै पिसाब च्यापिरहेको थियो । भाउजूले केही समयअघि कोठाभित्रै कोपरामा पिसाब फेर्दा सोध्नुभएको थियो, ‘तिमी पनि गर्ने हो?’
मलाई त्यतिखेर मन लागेन । लागे पनि लाजसरमले खपेरै बसेँ । अब त अति भयो । मानसिक र शारीरिक रूपमा म थाकिसकेकी थिएँ । लाजै पचाएर भाउजूसँग सोधेँ, ‘भाउजू कोपरा कहाँ छ?’
उहाँ खाटमा पल्टिरहनुभएको थियो । ढोकाको छेउतिर इसारा गर्नुभयो । दाइले छामछाम छुमछुम गर्दै जर्किन काटेर बनाएको कोपरा देखाइदिनुभयो । मैले अँध्यारोको फाइदा उठाउँदै सानो बालखाझैं दाइभाउजू र भानुकै अगाडि कोपरामा पिसाब फेरेँ । बाहिरबाट गोली र बमको आवाज आइरहँदा भित्र मैले पिसाब फेरेको आवाजमा कसको ध्यान जाओस् ? मलाई एकरत्ति लाज लागेन।
डरले जितेको बेला लाजसरम कहाँ बाँकी रहन्छ र?
त्यत्तिकैमा कोठाको पश्चिमपट्टि ससाना प्वालबाट पिरो धुवाँको मुस्लो छिर्यो । चरबाट अलिअलि उज्यालो पनि भित्र पस्यो । बमले त छिमेक घरको छाना नै पड्किएको रहेछ । बाहिरको भिडन्तले मन उसै ठेगानमा थिएन, त्यसमाथि अर्को संकट आइलाग्यो । आगो फैलिँदो हाम्रो घरसम्म सल्किन्छ कि भन्ने भयो।
दुई दिनअघि मात्र युरोपको कुनै देशमा स्कुलमा आगो लागेर ससाना विद्यार्थी चिच्याइचिच्याई मरेको सुनेकी थिएँ । अब हामी त्यसरी नै आगोमा जलेर ऐया र आत्थु भन्दै चिच्याइचिच्याई मर्छौंजस्तो लाग्यो । हामी ठूला मान्छेमात्र भए त सहन्थ्यौं होला । तर, यी केटाकेटी आगोको राप कसरी सहलान् ? मनमनै भनेँ, ‘बरु आगोमा डढेर मर्नुभन्दा गोली लागेर मर्नु राम्रो । प्राण त सजिलै जान्छ।’
मृत्यु निश्चित भएपछि मान्छे त्यहाँ पनि सजिलै उपाय सोच्दो रहेछ।
‘आगोको लप्काले घर घेर्नुअघि नै झ्याल खोलेर हाम्फाल्ने हो कि,’ सुनील दाइ र भानुले जुक्ति निकाले।
सिडिओ कार्यालयबाट हाम्रो घरसम्म फाँट थियो । झ्याल खोलेर हामफाल्दा सेना र माओवादी दुवैको निशाना बन्न सक्थ्यौं । फेरि केटाकेटी कसरी हाम्फाल्छन्?
मलाई अर्को जुक्ति आयो । भनेँ, ‘यही कोठाको भुइँ प्वाल पारुँ । सिरक र कम्मल मुनि खसालौं । त्यसपछि पहिला एकजना ठूलो मान्छे हाम्फालौं, अनि पालैपालो नानीहरूलाई तल झारौं।’
जुक्ति त निकालेँ, तर भुइँमा प्वाल पार्न हतियार थिएन । हतियारको नाममा कोठाभित्र स्याउ तास्ने सानो चक्कुमात्र थियो।
सोच्दासोच्दै धुवाँले कोठा कुइरीमण्डल भयो । भाउजू उठेर आफूले लुकाएर राखेको पैसा, गरगहना पोको पार्न थाल्नुभयो । दाइले पैसाको अर्को पोका आफूसँगै राख्नुभएको थियो । मैले पहिलोचोटि थाहा पाएँ, मर्ने बेला पनि मान्छेलाई धनकै चिन्ता हुँदो रहेछ । गहनाहरू पोको पारेपछि भाउजूले केटाकेटीलाई उठाएर टन्न लुगा लगाइदिनुभयो । मलाई भने सुर्खेत घर भएका साथीहरूले पठाइदिएको पैसा, महत्वपूर्ण कागजपत्रको चिन्ता लागेर आयो । मैले ती सबै सामान कोठामै छाडेकी थिएँ । अघि दाइको पछि लागेर यता आउँदा आत्तिएर कोठा खुल्लै छाडेछु । मेरो आफ्नो सामान त के नै थियो र ? अर्काको सामान सुरक्षित राख्न सकिनँ भनेर भत्भती पेट पोल्न थाल्यो।
बाहिर फेरि मान्छे कराएको सुनियो।
उनीहरू भनिरहेका थिए, ‘कृषि केन्द्र कतातिर हो?’
उनीहरूले आफूसँग ल्याएको खलंगा बजारको नक्सा मिलेनछ क्यारे । अपशब्दहरू निकालेर गाली गर्दै थिए । भन्दै थिए, ‘के दिएको नक्सा यस्तो, एउटा केही मिल्दैन।’
त्यसपछि मान्छे गुटुटुटु दौडिएको आवाज आयो । दाइभाउजूको ध्यान भने पैसाकै पोकामा थियो । मलाई झोंक चल्यो । कराइदिएँ, ‘ज्यान रहे त पैसा कमाइहालिन्छ नि।’
ज्यान बचाउन जसरी भए पनि भुइँ फोड्नैपर्यो भन्ठानेँ । स्याउ तास्ने चक्कुले नै कोतर्न थालेँ । वर्षौंदेखि लिपपोत गर्दागर्दा भुइँ यति बलियो भएको रहेछ, चक्कु नै भाँच्चियो । अब बम पड्के पनि, गोली बर्से पनि, आगो सल्के पनि खुसीसाथ स्वागत गर्नुको विकल्प थिएन।
फायरिङ विस्तारै पातलो हुँदै गयो । भानु उठेर धुवाँ आएको प्वालबाट चियाए।
‘दिदी भित्ता मोटो छ, आगो यहाँसम्म आइपुग्न टाइम लाग्छ । पहिले तपाईंको, त्यसपछि मेरो कोठामा सल्किन्छ, अनि बल्ल यहाँ आइपुग्छ । त्यतिन्जेल बिहान भइसक्छ । भिडन्त सकिएला,’ उनले भने।
अघिदेखि डराएर खाटमुन्तिर लुकीबसेका भानुले सुझबुझको कुरा झिकेका थिए।
टाढा कतै कुखुरा बासेको सुनियो । उज्यालो भएछ । घडी हेर्यौं । चार बजेको थियो । अब छिट्टै आक्रमणकारी फर्किएलान् ! हामी उत्साहित भयौं।
तर, सोचेजस्तो कहाँ हुन्छ र?
फेरि घमासान भिडन्त सुरु भयो । घरका भित्ता र छतमा एकोहोरो गोली खसिरहेको थियो । बेलाबेला मान्छे चिच्याएको आवाज सुनिन्थ्यो । गोली लागेर कराएका होलान्!
हाम्रो आशा र उत्साह बमले ध्वस्त पारेको घरजस्तो गल्र्यामगुर्लुम ढल्यो । बिहान भिडन्त चर्किनु भनेको माओवादीले जित्नु हो । हामीले सोच्यौं, प्रहरीको त के कुरा गर्नु, ब्यारेकमा सैनिक पनि सक्किएजस्ता छन् । वा, माओवादीले ब्यारेकै कब्जा गर्यो कि ! अछामका साथीहरूले सुनाएअनुसार त्यसपछि जे पनि हुनसक्छ रे । आक्रमणकारीले घरघरमा छापा मारेर अपहरण गर्न सक्छन् रे । धनमाल लुट्न सक्छन् रे । मान्छे मार्न सक्छन् रे।
आम्मामामा !
(२०५९ कात्तिक २८ गते माओवादीको खलंगा हमलाकी भुक्तमान नर्स राधा पौडेलको हालै प्रकाशित लडाइँ-संस्मरण 'खलंगामा हमला' को अंश। यो किताब पब्लिकेसन्स नेपालयले निकालेको हो। )